अमुल्य परिश्रम गरेर न्यून तलबमा मासिक आरएम ४८१ ले बचाउनु कती ?

अमुल्य परिश्रम गरेर न्यून तलबमा मासिक आरएम ४८१ ले बचाउनु कती ?

Edit This Post
१८ बर्षिय एकलाल थापा
एकलाल थापा
भरत रिमाल (जोहोरबारु/ मलेसिया)
 
भर्खर १८ वर्षको उमेर । राम्रोसँग पढ्न पाएको भए सल्यानका एकलाल थापा यतिबेला एसएलसी सकेर प्लस टु पढ्दै गरेको हुनुहुन्थ्यो । तर सबैलाई यो सौभाग्य कहाँ मिल्छ र ? बैदेसिक रोजगारीका लागि मलेसिया आएका थापाले आफ्नो उत्पादनशील समय यतै खर्चिनुपरेको छ । ‘यो रहरले होइन, बाध्यता नै यस्तै’, उहाँले भन्नुभयो । सल्यान लक्ष्मीपुर गाविस ६ का एकलाल थापाको जीवन भोगाइ उहाँकै शब्दमा:
 
घरको आर्थिक अवस्था त्यति राम्रो थिएन । आफ्नै खेतमा काम गर्ने हो भने पनि खान पुग्थ्यो । परिवारका ६ जना त्यही खेतीपातीको उब्जनीबाट पालिएका थियौँ । ‘छोराछोरीलाई किन पढाउन प¥यो र ? आफ्नै खेतमा काम गरे खान पुगिहाल्ल्छ ।  खेतीपातीको काम पो सिक्नुपर्छ’ भनेर म पाँच कक्षामा पढ्दा पढ्दै बुवाले विद्यालयबाट छुटाएर मलाई काममा लगाउनुभयो । 
 
मलाई खुब पढ्न मन थियो । बुवा ‘तँ स्कुल गए बारीमा काम कसले गर्छ’ भन्नुहुन्थ्यो । पढेर ‘ठुलो मान्छे’ बन्ने सपना हुँदाहुँदै पनि पढ्न पाइन । भारतमा काम गरिरहेका एकजना छिमेकी दाई घर आएको बेला मैले पनि जाने ईच्छा देखाएँ । उहाँले स्वीकार गरेपछि म घरमा केही खबर नै नगरि भारत लागेँ । त्यतिबेला म जम्मा १३ बर्षको थिएँ ।   
 
देश छाडेर भारत त लागेँ तर काम गर्न सजिलो थिएन । भारतको सिमलामा स्याउ बोक्ने काम गर्न थालेँ । केही समय काम गरेँ तर बिस्तारै गाउँघरको खुब याद आउन थाल्यो । आठ महिनामा नै घर फर्किएँ । हराएको छोरो घर फर्किएकोमा आमाबुवा खुशी भएपनि मलाई स्कुल पढाउन भने तयार भएनन् । त्यसपछि म काठमाडौं लागेँ काम खोज्न । 
 
कुनै शिप नभएको मैले के काम पाउनु र ? भौतारिँदै गर्दा भक्तपुरको एउटा ईट्टाभट्टामा काम पाएँ ।
 
काम पाउँदा एक हिसाबले खुसी पनि थिएँ । बिस्तारै देख्दै बुझ्दै जाँदा पढ्न नसकेपनि पैसा कमाउनु पर्छ भन्ने सोच बन्न थाल्यो । वैदेशिक रोजगारीमा जाने र धेरै धन कमाएर भाई बहिनीलाई पढाउने सपना देख्न थालेँ । विदेश जाने खर्च जुटाउन दिनरात नभनी दुई बर्ष त्यही ईट्टाभट्टामा काम गरेँ । केही पैसा जम्मा भएपछि घरमा गएर बुवालाई सबै कुरा भनेँ । बुबाले सहमति जनाएपछि म बिदेश जाने पक्कापक्की जस्तो भयो । 
 
सुरु भो मलेसिया यात्रा
 
बुबाले स्वीकृति दिएपछि ऋण खोजियो । देशमै केही गर्छु भन्दा कसैले नपत्याएपनि बिदेश जानेलाई भने जोपनि ऋण दिन अघि सर्छन् । ब्याजपनि मजाकै पाइने भएर होला । मैले तुरुन्त पासपोर्ट बनाएँ । काठमाडौंको बसुन्धरा स्थित टाइटनिक म्यानपावरमा १ लाख पाँच हजार बुझाएर मासिक ३० हजार कमाउने रहरमा हवाइजहाज चढेँ । 
 
मलेसियाको एयरपोर्टमा उत्रने बितिकै ‘अहँ हुँदैन’ जस्तो महसुस भएको थियो । नेपालबाट म्यानपावरले हामीलाई कागज कम्पनीका लागि एग्रिमेन्ट गराएर पठाएको थियो । तर एयरपोर्टमा एजेन्टले बिस्कुट कम्पनी हो भनेपछि मनमा चिसो पस्यो । आखिर बिस्कुट कम्पनी नै भएपनि के भो र ? राम्रो कमाई हुन्छ भने भन्ने सोचेर एजेन्टको पछि लागियो । अरु विकल्प पनि त थिएन ।  
 
कम्पनीमा काम सुरु भयो । मलेसियामात्र हैन अन्य देशमा पनि कमाई हुने भनेको आठ घण्टा बाहेकको ओभरटाइम र आईतवार तथा सार्वजनिक विदाको दिनमा काम गरेर नै हो । तर मैले काम गर्ने कम्पनीमा यस्तो थिएन । यहाँ दैनिक आठ घण्टा भन्दा धेरै काम गर्न पाइँदो रहेनछ । ‘नमच्चिने पिङको सय झडका’ भनेझैँ कम्पनीको नियम अत्यन्त कडा थियो । टवाइलेट गएको, पानी खान गएको पनि समय हिसाब गरेर तलब काट्ने जस्ता नियम थिए । 
 
१५ महिना भयो मलेसिया आएको । अहिलेसम्म घरमा राम्रोसँग पैसा पठाउन सकेको ।  यो १५ महिनामा मुस्किलले ३६ हजार रुपैँया घरमा पठाएको थिएँ । पैसा पठाएन भनेर बुबा बेलाबेलामा गुनासो गर्नुहुन्थ्यो । मैले काम गर्ने कम्पनीका बारेमा मेरा बुवालाई के थाहा ? मासिक ४ सय ८१ आरएममा मैले कति बचाउने ? बुबाले थोरै भनेर पैसा लिन मान्नुभएनछ ।  
बुवाले नलिएपछि  मनी ट्रान्सफरबाट पैसा फिर्ता ल्याएँ । सँगै काम गर्ने साथी विजयले घरमा पठाउँछु भनेपछि सापट दिएँ । कम्पनीको अवस्था र हाम्रा समस्याका बारेमा कुनै सुनुवाई नभएपछि कम्पनीमा काम गर्ने नेपालीहरु मिलेर हडताल सुरु ग¥यौँ । तर सुनुवाई भएन । विजय अरुभन्दा अली टाठोबाठो र यहाँको भाषा बोल्न सक्ने भएकाले आन्दोलनको नेतृत्व उसैले गरेको थियो । 
                                                                                                   
हाम्राबारे सबै कुरा थाहा पाएको साहुले हामीलाई ल्याउने एजेन्टलाई बोलाएर एक्कासी विजयलाई नेपाल पठाइदियो । निकै मेहनत गरि जोगाएको पैसा मैले उसैलाई सापटी दिएको थिएँ । फेरी सोचेँ, विचरा उसँग पनि कहाँ पैसा थियो र ? अनी यसरी अपर्झट नेपाल पठाउला भन्ने कुरा उसलाई पनि के थाहा ? 
तर अहिले सुन्दै छु ऊ अहिले फेरी मलेसियाको जोहोरबारुमा आएको छ रे । मलाई सम्पर्क गरेर मसँग सापटी लिएको पैसा फिर्ता गर्छ कि भन्ने झिनो आशा अझै बाँकी छ ।  
भाग्यले ठगेपनि अझै हरेस भने खाएको छैन । दुई वर्ष पुग्न अझै आठ महिना बाँकी छ । खुरुखुरु काम गर्छु र कमाएको पैसाले टिकट काटेर घर फर्कन्छु । पढ्ने रहर पुरा गर्न नसकेपनि कुनै शिप सिकेर स्वावलम्बी बन्ने र आफ्नै देशमा काम गर्ने रहर अझै बाँकी छ ।
 
Tags:

About author

Curabitur at est vel odio aliquam fermentum in vel tortor. Aliquam eget laoreet metus. Quisque auctor dolor fermentum nisi imperdiet vel placerat purus convallis.